काठमाडौं । नेपालमा बुधबार सर्वाधिक सङ्ख्यामा कोरोना सङ्क्रमित पुष्टि भएको छ । बुधबार एकैदिन १२९ जनामा कोरोना (कोभिड-१९) पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन उक्त संख्यामा कोरोनाका बिरामी भेटिएका हुन् । बुधबार थपिएको सङ्ख्यासँगै नेपालमा कुल संक्रमित संख्या ९०१ पुगेको छ ।
मन्त्रालयको तथ्यांक अनुसार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा पोजेटिभ देखियो । उनीहरु सबै सप्तरीका हुन् ।
कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना पोजेटिभ देखियो । हेटौंडामा भएको परीक्षणमा रौतहटका ७ सहित ८ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले उल्लेख गरेको छ ।
पोखरामा भएको परीक्षणमा बागलुङका ४ जनामा पोजेटिभ देखियो । दाङमा भएको परीक्षणमा रुकुम पूर्वका ३, दाङका १५ गरी १८ जनामा कोरोना देखियो ।
भेरी अस्पतालमा भएको परीक्षणमा १६ जना पोजेटिभ देखियो । काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको पोजेटिभ रिपोर्ट आएको छ ।
बुधबार कर्णालीमा पनि १५ जनामा कोरोना पुष्टि भएको छ । वीरेन्द्रनगरको प्रयोगशालामा भएको परीक्षणबाट १५ जनामा पोजेटिभ देखिएको हो