हामी सोच्छौं, नेपाल गरिब छ, त्यसकारण यहाँ महिला माथि विभेद छ । देश धनी, सम्पन्न र शिक्षित भयो भने महिला पुरुषबीच विभेद हुँदैन ।
तर, यूरोपको धनी तथा अतिविकसित देशमध्ये एक स्वीट्जरल्याण्डमा समानता माग्दै महिला सडकमा आन्दोलिन भएका छन् ।
स्वीट्जरल्याण्ड यस्तो देश हो, जहाँ महिलालाई नेपालमा भन्दा पनि पछि मतदानको सुविधा प्राप्त भएको थियो ।
यहाँ महिलाहरु लैंगिक समानताको आन्दोलनमा करीव तीन दशकदेखि सक्रिय छन् । सन् १९९१ मा शुरु भएको आन्दोलनकै एक रुप अहिले पुनः शुरु भएको बताइएको छ ।
स्वीट्जरल्याण्डका महिला अधिकारको सम्बन्धमा संघर्षरत विभिन्न डेढ दर्जन समूहले यो आन्दोलनको नेतृत्व गरिरहेको छ ।
ती समूहको छाता संगठन यूएसएसले गत १४ जुनमा आयोजना गरेको आन्दोलनमा इतिहासकै बढी महिलाको सहभागिता रहेको बताइएको छ । संगठनले यस दिनलाई राजनीतिक अधिकारीका दृष्टिकोणबाट विशेष दिन मानेको छ ।
स्वीस महिलाले सन् १९७१ मा मात्र मतदानको अधिकार पाएका थिए । सन् १९९१ सम्म स्वीस सरकारमा महिलाको प्रतिनिधित्व थिएन ।
यहाँ पुरुषको तुलनामा महिलाले २० प्रतिशत कम तलव पाउँछन् । उच्च तहमा महिलाको प्रतिनिधित्व नभएका कारण महिला अधिकारका मुद्दा सधै ओझेलमा पर्ने गरेको महिला अधिकारबादीहरुको भनाई छ ।
एजेन्सीको सहयोगमा