न्युयोर्क
मिनियापोलिसमा मृत्यु हुने जर्ज फ्लोएडको पक्षमा शुक्रबार राती न्युयोर्क ब्रुकलिनमा आयोजित बिरोध कार्यक्रममा प्रहरीको गाडीमा पेट्रोल बम प्रहार गरेको आरोपमा एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएर मुद्धा चलाएको छ । ब्रुकलिनस्थित बार्कले सेन्टर अगाडिको प्रदर्शनीमा सडकमा रोकी राखेको न्युयोर्क पुलिस डिपार्टमेन्टको गाडीमा प्रज्वलनशिल पदार्थ भरिएको सिसाको बोतल प्रहार गरिएको थियो । बोतल प्रहार गर्दाको समयमा चार जना प्रहरीहरु गाडी भित्रै रहेको जनाईएको छ । यद्यपी बोतल भने बिस्फोट नभएको र प्रहरीलाई चोट पनि नलागेको डेली मेलले लेखेको छ । प्रहरीको गाडीमा पेट्रोल बम प्रहार गरिएको आरोपमा न्युयोर्क अपस्टेट निवासी सामन्था साडरलाई प्रहरीले पक्राऊ गरेको हो । साडरलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा उनको २१ वर्षीय बहिनी डेरियनको प्रहरीसँग भनाभन भएपछि बहिनीलाई समेत नियन्त्रणमा लिईएको ‘डेली मेल’ ले लेखेको छ ।
जर्ज फ्लोएडको मृत्युको बिषयलाई लिएर न्युयोर्कमा शुक्रबार करिब ३ हजार मानिस प्रदर्शनीमा सहभागि भएका थिए । न्युयोर्कमा शुक्रबारको प्रदर्शनीमा प्रहरीको एक गाडीमा आगो लगाईयो भने अर्को एक गाडी तोडफोड गरिएको जनाईएको छ । २ सय जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शनिबार न्युयोर्क प्रहरी कमिसनर डर्मोन्ट सिआले; “भगवानको कृपाले कुनै पनि प्रहरी कर्मचारीको मृत्युको खबर सुन्नु नपरेको” प्रतिकृया दिएका छन् । अमेरिकाका अधिकांश राज्यमा प्रदर्शन भएको थियो ।