न्युयोर्क
गत हप्ता सोमबार मिनेसोटा राज्यको मिनियापोलिसमा प्रहरी कष्टडीमा मारिएका जर्ज फ्लोएडको न्यायको माग गर्दै जारी प्रदर्शन अमेरिकादेखि विश्वका अन्य देशमा पनि फैलिएको छ । अमेरिकामा आइतबार दिउँसो पनि शान्तिपूर्ण सुरु भएको प्रदर्शनले रात पर्दै जाँदा हिँसात्मक रुप लिएको थियो । फ्लोएडको न्यायको माग गर्दै अमेरिकाको करिब २५ राज्यका ६० वटा ठुला सहरमा भएका प्रदर्शनले आईतबार पनि हिँसात्मकरुप लिएको थियो । अमेरिकाबाट फ्लोएडको मृत्युसंगै सुरु भएको प्रदर्शन सप्ताहन्तमा बेलायत, जर्मनी डेनमार्क, ईटली न्युजिल्यान्ड, क्यानाडा लगायतका देशहरुमा समेत फैलिएको छ ।
अमेरिका :
अमेरिकामा यो सप्ताहन्त भएको प्रदर्शनमा देशभरबाट करिब ४ हजार प्रदर्शनकारीलाई प्रहरिले नियन्त्रणमा लिएको छ भने देशकै ठुलो सहर न्युयोर्कका मेयर बिल दि ब्लाजियोकी २५ बर्षीय छोरी चियारा पनि प्रदर्शनको क्रममा पक्राऊ परेकी छिन् । यो बीचमा जर्ज फ्लोएडलाई भुईमा सुताएर गर्धनमा घुँडाले थिच्ने पूर्व प्रहरी अधिकृत डेरेक चौभिनलाई प्रहरीले नियन्त्रणमा लिएर उनलाई ‘थर्ड डिग्री मर्डर’ को अभियोग लगाएको छ भने घटनामा संलग्न अन्य तीन प्रहरीलाई सेवा मुक्त गरिएको छ । एक हप्तादेखि जारी प्रदर्शनबाट देखिएको हिँसात्मकरुपलाई नियन्त्रणमा लिन देशका झन्डै आधा राज्यका गभर्नरले राष्ट्रिय सेनाको माग गरेका छन् । कोरोना महामारीले १८ लाख संक्रमित भएर १ लाख ४ हजार मान्छेको मृत्यु हुँदा तैनाथ नगरिएको राष्ट्रिय सेनालाई तैनाथ गरी आईतबार २६ राज्यका ४० ठुला सहरमा बसोबास गर्ने लाखौं जनतालाई कर्फ्युमा राखियो ।
क्यालिफोर्निया राज्यको डाउन टाऊन क्षेत्रका राज्यस्तरीय सम्पूर्ण कार्यालय भवन सुरक्षाका लागि सोमबार बन्द गरिने निर्णय गरिएको छ । ह्वाईट हाऊस नगरी डि सिमा सोमबारदेखि दुई दिनको लागि मेयर मुरियल ब्राउसर साँझ ७ बजेदेखि कर्फ्यु घोषणा गरी सकेका छन् ।
अमेरिकामा मात्र होईन न्यायको माग गर्दै अमेरिका बाहिरका अन्य देशहरुमा पनि प्रदर्शन भएका छन् ।
बेलायत :
बेलायतस्थित चर्चित ट्राफल्गर स्क्वायरमा ‘नो जस्टिक, नो पिस’ भन्दै आईतबार बिहान प्रदर्शन भएको थियो भने केही प्रदर्शनकारी नाईन एल्मस क्षेत्रको अमेरिकी दुताबास अगाडि पनि प्रदर्शनको लागि पुगेका थिए ।
जर्मनी :
जर्मनीको बर्लिनस्थित अमेरिकी दुताबास क्षेत्रमा पनि शनिबार र आईतबार दिनभर जस्तो प्रदर्शन भएको थियो । त्यहाँ भएको प्रदर्शनमा ‘ब्ल्याक लाईफ म्याटर’ र ‘जस्टिस कान्ट वेट’ जस्ता नारा लगाईएका थिए ।
डेनमार्क :
आईतबार कोपनहेगनका सडकमा पनि मिनियापोलिसमा मारिएका जर्ज फ्लोएडको न्यायको माग गर्दै ‘नो जस्टिस, नो पिस’ को नारा लगाईए । प्रदर्शन राजधानीस्थित अमेरिकी दुताबासमा भएको थियो ।
ईटली :
ईटलीको मिलानस्थित अमेरिकी कन्सुलेट अगाडि ‘ब्ल्याक लाईफ म्याटर’ जस्ता नारा लेखिएका ब्यानर सहित प्रदर्शन गरिएको थियो ।
न्युजिल्याण्ड :
न्युजिल्याण्डमा पनि सोमबार देशका बिभिन्न सहरमा प्रदर्शन गरिएका थिए । अकल्यान्ड विलिङ्टन क्रिस्ट्चर्च लगायतका ठाँऊमा हजारौंले प्रदर्शन गरेका थिए ।
क्यानाडा :
यो सप्ताहन्तको दुई दिन क्यानडाको टोरन्टोमा पनि ‘ब्ल्याक लाईफ म्याटर’ लगायतका नारा गुन्जिए । टोरन्टोमा मात्र होईन, भ्यानकुबरबाट पनि अमेरिकामा जारी प्रदर्शनलाई समर्थन भन्दै प्रदर्शन भए ।
समाचार श्रोत : सि एन एन