न्युयोर्क
मेई २५ तारिख प्रहरी कस्टडीमा नै बिबादस्पद मृत्यु भएका जर्ज फ्लोएडको लास परिक्षण रिपोर्टमा उनलाई कोरोना संक्रमण देखिएको छ । बुधबार सार्वजनिक गरिएको लास परिक्षण रिपोर्टमा फ्लोएडको मृत्यु हुनु भन्दा केही हप्ता अगाडि कोरोना संक्रमण भएको जनाईएको हो । मृतक फ्लोएडको हेनिपिन काउन्टी मेडिकल एक्जामिनरद्वारा जारी लास जाँच रिपोर्टमा उनलाई अप्रिल ३ तारिख कोरोना पोजेटिभ देखिएको हो । शरिरमा भएको राईबो न्युक्लिक एसिडका कारण रोग हराई सके पनि केही हप्तासम्म देखिने शव परिक्षण रिपोर्टमा जनाईएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले आरएनए (राईबो न्युक्लिक एसिड) पोजेटिभ देखिनुको मतलब मानिस संक्रमित नै थियो भन्ने हुँदैन । स्वास्थ परिक्षण अधिकारिले यसै हप्ता फ्लोएडको हत्या नै भएको रिपोर्ट सार्वजनिक गरीसकेका छन् । उनको मृत्युको कारण भने घाँटी थिचिएर कार्डियो पल्मुनरी एरेस्टबाट भएको जनाईएको छ ।
फ्लोएडको न्यायको माग र काला जातीमाथि हुने गरेको प्रहरी दुर्व्यवहारको बिरोध गर्दै अमेरिकाका प्रायप सबै ठुला शहरहरुमा हजारौंको प्रदर्शन भै रहेको छ । प्रदर्शन सुरु भएको केही दिन लुटपाट र तोडफोड समेत भएको थियो भने कतिपय सहरमा रातीको समयमा कर्फ्यु जारी नै छ । प्रहरीले फ्लोएडलाई ८ मिनेट ४२ सेकेन्ड हतकडी लगाएर घोप्टो पारी गर्धनमा घुँडाले थिचेको भिडियो सार्वजनिक भएको थियो । घटनामा संलग्न ४ जना प्रहरीलाई प्रहरी हिरासतमा राखिएको छ ।