‘यो कर्फ्यु अन्तिम कर्फ्यु बनोस्’ भन्दै मेयर ब्लाजियोले हटाए कर्फ्यु; राष्ट्रपतिले गरे डिसीबाट सेना फिर्ता पठाउने घोषणा

न्युयोर्क

न्युयोर्क सहरका मेयर बिल दि ब्लाजियोले न्युयोर्कमा जारी कर्फ्यु तत्कालै लागू हुने गरी हटाईएको घोषणा गरेका छन् । यस अगाडि पूर्व निर्धारित कार्यक्रम अनुसार न्युयोर्कमा आज आईतबार पनि बेलुका ८ बजेदेखि रातभरको लागि कर्फ्यु तोकिएको थियो ।  आईतबार बिहान मेयर ब्लाजियोको घोषणासंगै न्युयोर्कमा ७५ बर्ष पछि लगाईएको झन्डै एक हप्ता लामो कर्फ्यु हटेको छ । न्युयोर्कमा हजारौंको सहभागितामा प्रदर्शन जारी रहे पनि प्रदर्शन पूर्णतया शान्तिपूर्ण देखिए पछि मेयर ब्लाजियोले कर्फ्यु हटेको घोषणा गरेका हुन्।  

कोरोना महामारीका कारण झन्डै तीन महिनादेखि बन्द रहेको न्युयोर्क   सोमबारदेखि पहिलो चरणमा खुला हुँदैछ ।न्युयोर्क सहरको अर्थतन्त्र सुचारु गर्नु एक दिन अगावै मेयर ब्लाजियोले भनें; प्रत्येक दिन सहरको अवस्था राम्रो माथि राम्रो हुँदै गएको छ । मैले कर्फ्यु अन्त्य गर्ने निर्णय गरेको छु ।  मेयर ब्लाजियोले पत्रकार सम्मेलनमा भनें “मलाई विश्वास छ यस पटकको कर्फ्यु नै अन्तिम कर्फ्यु बनोस् । अब कहिलै पनि न्युयोर्कमा कर्फ्यु लगाउनु पर्ने दिन नआवोस” ।  

सन् १९४५ मा फ्र्यांक्लिन रुजबेल्ट राष्ट्रपति र फिवोरिलो लग्वार्डिया न्युयोर्कको मेयर हुँदा लगाईएको कर्फ्यु जस्तै गत हप्ता सोमबार हप्ता दिन लामो कर्फ्यु घोषणा गरिएको थियो । गत हप्ता शान्ति सुरक्षाको लागि खटाईएका राष्ट्रपति डोनाल्ड ट्रम्पको वासिङ्टन डिसिमा तैनाथ सेना फिर्ता पठाउने घोषणा आए लगत्तै मेयर ब्लाजियोले न्युयोर्कको कर्फ्यु हटाउने घोषणा गरेका हुन् ।  गत हप्ता डिसिस्थित स्थानीय सरकारले जर्ज फ्लोएडको मृत्‍युसंगै बढेको हिंसात्मक प्रदर्शनलाई मर्यादित बनाउन सहयोगको लागि संघीय सरकारसँग केही सेना माग गरे पनि ट्रम्पले डिसि क्षेत्रमा हजारौं सेना तैनाथ गरेका थिए । डि सिकी मेयर मुरियल ब्राउसरले अघिल्लो हप्ता नै राष्ट्रपति   ट्रम्पलाई सेना फिर्ता लैजान अनुरोध गरेकी थिईन् । न्युयोर्क तथा डिसीको शनिबारका प्रदर्शन पूर्णतया शान्तिपूर्ण भएका थिए ।