न्युयोर्कमा जारी जुलुशमा जानेहरु कोरोना परिक्षण गर्न गई हाल्नुस्; गभर्नर कुमो

न्युयोर्क

न्युयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले जारी रंगभेद बिरुद्धको आन्दोलनका कारण थप १५ वटा कोरोना जाँच केन्द्र न्युयोर्क शहर भित्र मात्र सुरु गरेको बताएका छन् । भोली सोमबार जुन ८ तारिखदेखि अर्थतन्त्र सुरु गर्ने तयारीमा रहेको न्युयोर्क सहरमा दिनहुँ हजारौंको सहभगितामा शान्तिपूर्ण प्रदर्शन भै रहेका छन् । प्रदर्शनकारीहरुलाई गभर्नर कुमोले अनुरोध गर्दै भनेका छन् “यति बेला महानता देखाउनुस् र रंगभेद न्यायको आन्दोलन गर्दै गर्दा जीवनलाई पनि सही बाटोमा डोर्याउनु पर्दछ”।

उनले कोरोना भाईरसको लागि कुनै बेला एपिसेन्टर बनिसकेको न्युयोर्क सहरमा यो खतरनाक भाईरसको पुनरागमनको सम्भाबनामा जहिले पनि सतर्क बस्नु पर्दछ ।  त्यसैले यदि तपाईं जुलुसमा सहभागी हुनु भएको छ भने जिम्मेवारी देखाएर कोरोना जचाउनु होस् ।  

गभर्नर कुमोले न्युयोर्क सहर एक्लैसँग ३५ हजार कोरोना जाँच गर्ने क्षमता भएको पनि बताए । शुक्रबार न्युयोर्कमा ६० हजार मानिसको कोरोना परिक्षण गरिएकोमा जम्मा ७ सय ८१ जना संक्रमण देखिएको थियो ।