काठमाडौं । विदेशमा रहेका नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण र मृत्युदर दबै घटेको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले साप्ताहिक कोरोना अपडेट सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । संघका अनुसार कोरोना भाइरस सङ्क्रमणले विदेशमा नेपालीको मृत्यु र सङ्क्रमण दर दुबैमा उल्लेख्य कमी आएको छ ।
शनिबार साँझसम्म नेपालबाहिर १२५ नेपालीको ज्यान गएको छ । पाँच हजार ५९० जनाले भने कोरोनालाई जित्न सफल भएका छन् । सङ्क्रमण दर अघिल्लो साताको तुलनामा ७५ प्रतिशतले घटेको छ । अघिल्लो साता कतारमा चारजना, कुबेत र युकेमा एक÷एक गरी ६ जनाले ज्यान गुमाए ।
विश्वभर ३४ देशमा नेपाली कोरोना भाइरसको संक्रमणमा छन् । बेलायत, संयुक्त राज्य अमेरिका, युएई साउदी अरब, बहराइन, कुबेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्विडेनमा नेपालीको ज्यान गएको छ । संसारभर १४ हजार ४५४ जना नेपालीलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो ।
संघले भारतसहित विदेशबाट नेपालीहरुलाई फिर्ता ल्याउने सरकारको निर्णयको समेत स्वागत गरेको छ । एनआरएनएका अध्यक्ष कुमार पन्तले सरकारको कदम स्वागत योग्य भएको बताएका छन् । नेपालमा लकडाउन भएको ७४ दिनपछि गत शुक्रबार म्यानमारबाट २६ र युएईबाट १६८ जना नेपाली घर फर्किएका छन् ।