काठमाडौं । पछिल्लो दिनमा सरकारविरुद्ध सडकमा प्रदर्शन चर्किदै आएको छ । कोरोना परिक्षण प्रभावकारी बनाउन, कोरोनामा भएको खर्च सार्वजनिक गर्नजस्ता माग राख्दै काठमाडौंसहित देशव्यापी सडकमा प्रदर्शन भइरहेको छ । यसलाई मध्यनजर गर्दै गृह मन्त्रालयले प्रदर्शन भए कारबाहीको चेतावनी दिएको छ।
विगत केही दिनदेखि विभिन्न बहाना वा माग राखेर सामाजिक सञ्जालबाट सर्वसाधारणलाई निश्चित स्थानमा जम्मा हुन आह्वान गर्ने, जुलुस प्रदर्शन गर्ने र शान्तिपूर्ण धर्नाका नाममा धेरै व्यक्ति सहभागी गराउने, ज्ञापन पत्र दिन जानेजस्ता कामप्रति गृहले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
विहीबार काठमाडौंमा विशाल समूह जम्मा भएर प्रधानमन्त्री निवास घेरेको थियो । लकडाउन आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० को दफा ३ को सजायअन्तर्गत सम्बन्धित सिडिओले नगद जरिवाना र थुनामा राख्न सक्ने गृहले उल्लेख गरेको छ ।
बन्दाबन्दीको आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० को दफा ३ को सजायअन्तर्गत सम्बन्धित प्रमुख जिल्ला अधिकारीले रू १०० देखि ६०० सम्म जरिवाना र १ महिनादेखि ६ महिनासम्म थुनामा राख्न सक्ने गरी गृहले चेतावनी दिएको हो ।
लकडाउनलाई बाधा पुग्ने गरी काम गरेमा प्रजिअले कारबाही गर्न सक्ने गृहको भनाइ छ। गृहले लकडाउनका बेला घरमै बसेर गरेको सहयोगप्रति नागरिकलाई धन्यवाद भनेको छ । विहीबार भिड हटाउन प्रहरीले पानीको फोहोरा तथा अश्रुग्यास समेत हानेको थियो ।