२ सय भन्दा बढी कोरोनाका बिरामी भएको जिल्ला लकडाउन गर्न सकिने

काठमाडौं । सरकारले २ सयभन्दा बढी कोरोना भाइरसका एक्टिभ संक्रमित भएको जिल्लालाई पुनः लकडाउन गर्न सक्ने भएको छ । करीव तीन महिना लामो लकडाउन केही खुकुलो भएकै दिन स्वास्थ्य मन्त्रालयले कोभिड–१९ सम्बन्धी नयाँ मापदण्ड जारी गरेको छ । जसअनुसार एक जिल्लामा २ सय बढी एक्टिभ संक्रमित रहेको अवस्थामा जिल्लालाई सिल गर्न सकिने भएको छ ।

जुन पहिलाको जस्तै पूर्ण लकडाउनको अवस्था हो । लकडाउन खुकुलो भएसँगै संक्तमण रोग तिब्र गतिमा बढ्न सक्ने सम्भावना रहन्छ । सोहीकारण मन्त्रालयले गर्न हुने र नहुने मापदण्ड तोकेको हो । अब सबै किसिमको जमघट र भेटघाटमा कम्तिमा ६ फिट अर्थातः २ मिटरको दूरी कम्तिमा कायम गर्नु पर्नेछ । बाहिर हिड्दा अनिवार्य मास्कको प्रयोग गर्नुपर्नेछ ।

साबुन पानीले अनिवार्य हात धुन समेत मन्त्रालयले सुझाव दिएको छ । कुनै पनि स्वास्थ्य समस्या देखिएमा तत्काल जाँच गर्नुपर्ने समेत मापदण्डमा उल्लेख गरिएको छ । उच्च जोखिमयुक्त ठाउँमा रहेका होटल र क्यान्टिनले खाना प्याकिङ गरेर मात्र लैजान सक्नेछन् । ग्राहकलाई सेवा प्रदान गर्दा भौतिक दूरी कायम गर्नुपर्ने भएको छ । मापदण्ड उल्लंघन गरेमा भने कारवाही हुने मन्त्रालयले जनाएको छ ।

शुक्रबारबाट काठमाडौंसहित जिल्ला सदरमुकाममा निजी यातायात सेवा संचालनमा आएको छ । बजार पसल खुलेका छन् । कार्यालयहरु संचलनमा आएका छन् । निर्माण कार्य सूचारु भएको छ ।