काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकले संविधान संशोधन विधेयक पास गर्दैछ । बैठक दिउँसो १ बजे बोलाइएको छ । नक्सा सम्बन्धी नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने कार्यसूची आजका लागि तय भएको छ । आजको संभावित कार्यसूची अनुसार बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछिन् । त्यसपछि छलफल हनेछ । अनि कानुनमन्त्री तुम्बाहाङफेले नै उक्त विधेयकलाई पारित गर्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
लिम्पियाधुरा, कालापानी, लिपुलेक, कुटी, गुञ्जी, नावीसहितको भूभाग समेटेर सार्वजनिक गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिने गरी सरकारले संविधान संशोधन विधेयक ल्याएको हो ।
विधेयकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलको समर्थन रहेका कारण यो पारित हुने निश्चित भएको छ । जेठ २७ गते प्रतिनिधि सभामा भएको सैद्धान्तिक छलफलमा सबै दलहरुले यस विधेयकको पक्षमा मतदान गर्ने प्रतिवद्धतासहित मिचिएको भूमि फिर्ता गर्न भारत सरकारलाई आग्रह गरेका थिए । यो संशोधनको विपक्षमा सांसद सरिता गिरी मात्र रहेकी छिन् ।