काठमाडौं । जनता समाजवादी पार्टीका सांसद उपेन्द्र यादवले महाकाली सन्धीमा गरेको राष्ट्रघातप्रति प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसले माफी माग्नुपर्ने बताएका छन् । महाकाली सन्धीका बेला वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली जोडतोडले लागेका थिए । कांग्रेसले समेत यसलाई समर्थन गरेको थियो ।
यसअघि कांग्रेस नेता प्रदीप गिरिले समेत प्रधानमन्त्रीलाई महाकाली सन्धीका बेला गल्ती भएको भन्दै माफी माग्न सुझाव दिएका थिए । शनिबार संसदमा संविधान संशोधन विधेयकका सम्बन्धमा बोल्दै समाजवादी पार्टीका अध्यक्ष यादवले महाकाली सन्धी राष्ट्रघात भएको उल्लेख गरे ।
उनले त्यसबेला सांसद हुने र नेतृत्व गर्नेहरूले सुगौली सन्धीभन्दा पनि पछि हटेर महाकाली सन्धी गरेकोले माफी माग्नुपर्ने बताए । यादवले महाकाली सन्धी गर्दा सीमाबारे प्रष्ट किन खोजी नगरेको भन्दै प्रश्न गरे।
महाकाली सन्धी गर्दा जे गरिएको थियो त्यसको समेत जवाफ दिनुपर्ने उनको भनाई छ । कांग्रेस र कम्युनिष्टले माफी माग्नुपर्ने उनको माग छ । महाकाली सन्धी हुँदा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा प्रधानमन्त्री थिए ।