न्युयोर्क
अमेरिकाको आगामी निर्वाचनको लागि डेमोक्र्याटिक पार्टीबाट सम्भाबित राष्ट्रपतीय उम्मेद्वार जो बाईडेन आफ्नो उपराष्ट्रपति छनौटको दोश्रो चरणमा प्रवेश गरेका छन् । बाईडेन ह्वाईट हाऊस दौडको लागि आफ्नो सहयात्री छनौटको दोश्रो चरणमा प्रवेश गरेको र यस अगाडिका सम्भाबितहरुको फराकिलो घेरा साँघुरो बनेको अमेरिकी मुलधारका संचार माध्यमले शुक्रबार जनाएका छन् ।
समाचार श्रोतका अनुसार बाईडेनले उपराष्ट्रपति पदका लागि अन्तिम ६ जनाको सुची दोस्रो चरणमा टुङो लगाएका छन् । बाईडेनको पछिल्लो रोजाईमा म्यासाच्युसेट्सकी सिनेटर एलिजाबेथ वारेन, क्यालिफोर्निया राज्यकी सेनेटर कमला ह्यारिस, पूर्व राष्ट्रपति बाराक ओबामाका राष्ट्रिय सुरक्षा सल्लाहकार सुजन राईस परेका छन् । बाईडेनले गत मार्चमा नै आफुले आफ्नो उपराष्ट्रपति महिलालाई बनाउने घोषणा गरेका थिए । फ्लोरिडाकी सांसद भल डेमिङ, एट्लान्टाकी मेयर केश ल्यान्स बटम्स, न्यु मेक्सिकोकी गभर्नर मिसेल लुजम ग्रिसम पनि बाईडेनको पछिल्लो सुचीमा अटाएका छन् ।
महिलालाई आफ्नो उपराष्ट्रपति बनाउने घोषणा गरी सकेका पूर्व उपराष्ट्रपति बाईडेन माथि जर्ज फ्लोएड मृत्यु प्रकरण पछि उनलाई अश्वेत महिललाई उपराष्ट्रपति छनोट गर्नु पर्ने दबाब बढ्न थालेको समाचार श्रोतहरुले बताएका छन् । बाईडेन अश्वेत मतदाता बीच लोकप्रिय मानिदै आएका छन् । उनले छनोट गरेका पछिल्लो ६ जनाको सुचीमा म्यासाच्युसेट्सकी सेनेटर वारेन र न्यु मेक्सिको गभर्नर ग्रिसम बाहेकका ४ जना अश्वेत जातीका हुन् ।