रुकुम । ६ जनाको ज्यान जाने गरी रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ को सोतीमा भएको घटना नियोजित हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ । गाउँबाट भाग्दै गरेका युवालाई बाटो छेकेर नियोजित तरिकाले आक्रमण गरिएको र आक्रमणका क्रममा उनीहरुको ज्यान गएको प्रहरीको अनुसन्धानले देखाएको छ ।
जेठ १० मा रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ को सोतीमा जाजरकोटबाट गएका १८ जना युवाको टोलीमाथि गाउँलेले आक्रमण गरेका थिए । ती युवा गाउँकी मल्ल थरकी एक युवतीलाई भगाउन गएका थिए । घटनामा संलग्न भएको आरोपले प्रहरीले आइतबार ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा मुद्दा दायर गरेको छ ।
मुद्दा दर्ता गरिएकामध्ये दुई जना बालबालिका हुन् । एक जना भने मतियारका रुपमा दर्ता भएको छ । ३१ जनाविरुद्ध ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र जातीय विभेद तथा छुवाछुत कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला अदालत रुकुम पश्चिमका श्रेस्तेदार कृतबहादुर बोहराले आइतबार मुद्दा दर्ता भएको जानकारी दिएका छन् । सोमबारबाट थुनछेक बहस सुरु हुने भएको छ ।
मुद्दा लागेकामध्ये पाँच जना फरार छन् । अरु सबैलाई प्रहरीले पक्राउ गरिसकेको छ । जाजरकोट भेरी नगरपालिकाका नवराज विककी प्रेमिकालाई भगाउन १८ जनाको टोली रुकुम गएको थियो । उनकी प्रेमिका र उनीबीच शुरुमा राम्रो सम्बन्ध भएपनि पछिल्लो समय सम्बन्ध बिग्रिएको र धेरै जना युवा जाँदा भगाउन सकिने उद्देश्यले नवराजले युवाहरुलाई रुकुम लगेको पाइएको छ ।
तर, सो क्रममा जातीय विषय समेत उठेपछि विवाद भएका कारण प्रहरीले जातीय विभेदको कसुरमा समेत मुद्दा दर्ता गरेको छ ।
यो घटनामा नवराजसहित गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको ज्यान गएको छ । उनीहरुको शव भेरी नदीमा भेटिएको हो । प्रहरीका अनुसार गाउँलले लखेट्दै ढुंगा प्रहार गर्दा युवाको ज्यान गएको पाइएको छ ।