काठमाडौं । अमेरिकाबाट नेपालका लागि विभिन्न चार शहरबाट चार्टर्ड उडान निश्चित भएको छ । अमेरिकास्थित नेपाली दूतावासले यसको पुष्टी गरेको हो । नेपाल फर्कन चाहने र समस्यामा रहेका नेपालीबाट दूतावासले फारम मागेको थियो । सोहीअनुसार उनीहरुलाई नेपाल फर्काउन आगामी साता दुई दिन चारवटा चार्टर उडान हुने दूतावासले जनाएको छ । अमेरिकाबाट जुन २३ र २५ तारिखमा नेपालका लागि चार्टर उडान हुने भएको छ ।
अमेरिकास्थित नेपाली दूतावासका अनुसार टर्किस एअरवेजले जुन २३ तारिखमा न्युयोर्कबाट र २५ तारिखमा सिकागोबाट नेपालका लागि चार्टर उडान गर्ने भएको छ । कतार एयरवेजले जुन २३ तारिखमा वासिंग्टन डिसी र २५ तारिखमा डालासबाट नेपाल उडान गर्ने भएको हो ।
नेपाल फर्कन दुतावासमा अनलाइन फर्म भरेकाहरूलाई प्राथमिकताक्रम सूचीअनुसार आफूलाई अनुकूल पर्ने फ्लाइटका लागि सम्बन्धित हवाइ संस्थाले तोकेको आधिकारिक एजेन्सीसँग सम्पर्क गर्न दूतावासले अनुरोध गरकेो छ ।
कारणवश उडान मिति परिवर्तन हुन सक्ने सम्भावनालाई भने दूतावासले सचेत गराएको छ । टर्किसले १५३७ र कतारले १६ सय डलरमा नेपालीलाई स्वदेश फर्काउन लागेका छन् ।