आफुलाई चुनाव जित्न सघाउन चीनका राष्ट्रपतिलाई ट्रम्पको गुहार, पूर्व सल्लाहकारले खोले राज

फाईल फोटो

न्यूयोर्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि राष्ट्रपतिय चुनावमा सघाउन चीनियाँ समकक्षि सि जिनफिङलाई गुहार मागेको उनकै पूर्व निकट सल्लाहकारले दावी गरेका छन् । ट्रम्पको राष्ट्रिय सुरक्षा सल्लाहकार रहि सकेका जोन बोल्टनले आफ्नो नयाँ किताबमा गत बर्ष जी २० को बैठकमा ट्रम्पले जिनफिङसँग उक्त अनुरोध गरेको उल्लेख गरेका हुन् ।

जी २० को बैठक गत बर्ष जापानको ओसाकामा सम्पन्न भएको थियो । त्यसबेला रात्रीभोजमा ट्रम्पले चीनले अमेरिकाबाट कृषिजन्य उत्पादनको आयात बृद्धि गरिदिए आफुलाई निर्वाचित हुन सहयोग पुग्ने भन्दै याचना गरेको बोल्टनको किताबमा जनाइएको छ । दुई राष्ट्रपतिबीचको एक्लाएक्लै भेटमा जिनफिङले कुराकानीको सुरुवात गर्दै ट्रम्प समक्ष अमेरिकामा चीन बिरोधी धारणाबारे गुनासो राखेका थिए । जवाफमा ट्रम्प डेमोक्र्याटहरुले चीन विरोधी धारणा बढाएको भन्दै आफ्ना प्रतिद्वन्दिप्रति क्रुद्ध भएको किताबमा उल्लेख छ ।

त्यस लगत्तै ट्रम्पले चुनावी कुरा झिकेको बोल्टनको दावी छ । आफुलाई चुनाव जिताउने चीनसँग आर्थिक सामर्थ्य रहेको भन्दै ट्रम्पले भटमास र गहुँको आयात बढाइदिन अनुरोध गरेका थिए । ट्रम्पले जिनफिङसँग बोलेको शब्दनै आफुलाई ज्ञाँत भएपनि सरकारको (किताव) प्रकाशन पुर्वको समिक्षाका कारण त्यसो गर्न नसकेको बोल्टनले उल्लेख गरेका छन् ।

त्यही भेटको दौरान जिनफिङले चीनले १० लाख हाराहारी उइघुर मुस्लिमहरुलाई कँज्याउन शिनजियानमा निर्माण गरेको बन्दीगृहको बचाउ गरेका थिए । जवाफमा ट्रम्पले जिनफिङको उक्त कदमप्रति आफ्नो समर्थन जनाएको पनि किताबमा उल्लेख छ ।

बोल्टनले किताब ‘द रुम ह्वेर इट ह्यापेन्ड’ आउँदो साता प्रकाशनको तयारी छ । प्रकाशन अगावै अमेरिकी मिडियाहरुले उनको किताब हात पारेर महत्वपुर्ण सूचना प्रकाशन गर्न थालेका हुन् । साथै, उनको किताब प्रकाशन रोक्न ह्वाइट हाउसले अदालतमा मुद्दा दायर गरेको छ । राष्ट्रपतिसँगका गोप्य सूचना बिना अनुमति बोल्टनले प्रकाशन गरेको सरकारी दावी छ । अप्रिल २०१८ मा ट्रम्पको राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त भएका बोल्टनले गत सेप्टेम्बरमा ट्रम्पसँगको सैद्धान्तिक विमती पछि ह्वाइट हाउस छोडेका थिए । तर, उनले आफुलाई थाहा भएका गोप्य सूचना संसदमा ट्रम्प विरुद्धको महाभियोग प्रस्तावमा दिन अटेर गरेका थिए । राष्ट्रपतिले पद दुरुपयोग गरेका गम्भिर सूचना संसदसँग लुकाएर किताब प्रकाशन गर्न र पैसा कमाउन खोजेको भन्दै उनको आलोचना पनि भइ रहेको छ ।