नेपालमा सुनसहित १० खानीको उत्खनन् गरिने

काठमाडौं । नेपालमा सुनसहित विभिन्न १० वटा खानीको अध्ययन तथा उत्खनन् गरिने भएको छ । खानी तथा भूगर्भ विभागले रोल्पामा सुन खानी उत्खनन् गर्ने भएको छ । यसबाहेक देशका विभिन्न १० वटा खानी अध्ययन तथा उत्खनन गर्न सरकारले लाईसेन्स प्रदान गर्ने प्रक्रिया थालेको छ ।

सुन, तामा, चुनढुंगा, नुन, कोइला, ग्रेनाइट र केओलिनसहित १० वटा खानी क्षेत्रको अध्ययन र उत्खनन गर्न लाइसेन्स वितरण गर्न सार्वजनिक सूचना प्रकाशित गरिएको हो । विभागका अनुसार दुई वटा चुनढुंगा खानी र एक एक ओटा नुन तथा ग्रेनाइट खानी उत्खनन अनुमति दिन आवेदन मागिएको हो ।

रोल्पाको सुनछहारी गाउँपालिकामा रहेको सुन खानीसहित दुईवटा चुनढुंगा खानी, नुन तथा ग्रेनाइट खानी एक एक, तीनवटा तामा खानी, एक केओलिन र कोइला खानीका लागि भने अध्ययनका लागि मात्र बोलपत्र आह्वान गरिएको हो ।

खानी उत्खनन तथा अध्ययन गर्न इच्छुक कम्पनीहरूले ३५ दिनभित्र आवश्यक धरौटीसहित आवेदन दिनुपर्ने भएको छ । यो लाइसेन्स प्रक्रिया चालु आवको कार्यक्रमअनुसार अगाडी बढेको हो ।