काठमाडौं । नेपाली नागरिकसँग बिहे गरेर आउने विदेशी नागरिकलाई नेपालमा सात वर्ष लगातार बसेपछि मात्र अंगीकृत नागरिकता दिनेसम्बन्धी व्यवस्था संसदको राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेको छ । यो व्यवस्था संसदीय समितिमा बहुमतले पारित भएको हो । आइतवार बसेको समितिको बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र समाजवादी जनता पार्टीले भने फरक मत राखे ।
तर, शनिबार नेकपाले यो प्रावधानको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । सोहीकारण बहुमतले विदेशी बुहारीलाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने गरी नागरिकता ऐनमा संशोधन गर्ने प्रस्ताव पारित भएको हो । प्रस्तावको पक्षमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद देखिए । प्रमुख प्रतिपक्ष कांग्रेस र जनता समाजवादीका सांसद विपक्षमा रहे ।
उनीहरुले बिहे भएर नेपाल आउनासाथ वा महिलाले चाहेको समयमा नागरिकता पाउनु पर्ने अडान राखेका छन् । समितिबाट पारित भ्एको विधेयक प्रतिनिधिसभामा पेश हुन्छ । विपक्षीले भने विदेशी महिलालाई सात वर्ष पछिमात्रै अंगीकृत नागरिकता दिने विषय व्यवहारिक नहुने र संविधानको मर्म विपरीत हुने तर्क राखेका छन् ।
तराई मधेसमा अधिकांश व्यक्तिको विवाह भारतमा हुने भएकले यसले नेपाल र भारतबीचको भगिनी सम्बन्धमै असर पर्न सक्ने विपक्षी सांसदहरुको तर्क रहेको छ । यता, सत्तारुढ दलले बहुमतिको बलमा विधेयक पारित गरेपछि विपक्षी दल भने मोर्चाबन्दीमा उत्रिएका छन् । उनीहरुले एक स्वरमा यो प्रावधानको विरोध गरेका हुन् ।