काठमाडौं । हुम्लाको खर्पुनाथ गाउँपालिका–५ स्थित कर्णाली नदीमा मंगलबारदेखि बेपत्ता जीप अझै फेला परेको छैन । खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीसमेत सवारी जीप हराएपछि प्रहरीले नदी खोजी कार्य तिब्र बनाएको छ ।
मंगलबार चितवनबाट सशस्त्र प्रहरी बलबो गोताखोर टोली कर्णाली पुगेपछि खोजी कार्य तिब्र बनाइएको थियो । तर, मंगलबार साँझसम्म पनि जीप र हराइरहेका यात्रुको कुनै निसाना फेला पार्न सकिएको छैन ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले निरन्तर खोजी कार्य जारी राखेका छन् ।
उता, सोमबार बझाङमा जीप दूर्घटनामा परी निधन भएका ९ जनाको बुधबार सामुहिक अन्त्येष्टी गरिएको छ । सोमबार बझाङको मष्टा गाउँपालिका १ मा दुर्घटना हुँदा चालकसहित ९ जनाको मृत्यु भएको थियो ।
जयपृथ्वी नगरपालिकाको डुग्रीबाट मष्टा गाउँपालिकातर्फ जाँदै गरेको से १ झ १०७२ नम्बरको जिप डौठ्या खोलास्थित घुम्तीबाट अनियन्त्रीत अप्ठयारो भीरमा झरेर दूर्घटना भएको थियो ।
यस जिल्लामा अहिलेसम्म नै एउटै दूर्घटनामा धेरै मानिसले ज्यान गुमाएको यो पहिलो पटक हो । मृतकहरुलाई अन्तिम श्रद्धाञ्जली दिनका लागि कोटलदेवलका स्थानीय र जिल्लाका विभिन्न ठाउँबाट सयौंको संख्यामा सर्वसाधारण उपस्थित भएका थिए ।
राजनीतिक दलका नेता, स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सर्वसाधारण जिल्ला अस्पताल सिमखेतबाट धौलाबगर आर्यघाटसम्म शवयात्रामा सहभागी भएका थिए ।
दुर्घटनाको शोकमा मष्टा गाउँपालिकाले बुधबार सार्वजनिक विदा दिएको थियो । गाउँपालिकाले मृत्यू भएका परिवारलाई किरिया खर्चबापत पाँच हजार र घाइतेको उपचारका लागि प्रतिव्यक्ति ५० हजार रुपैयाँ आर्थिक सहयोग दिने निर्णयसमेत गरेको थियो ।