काठमाडौं । नेपालमा लकडाउन खुकुलो भएपनि कोरोना महामारीको जोखिम भने कम नभएको विश्व स्वास्थ्य संगठनले बताएको छ । संगठनको नेपालस्थित कार्यालयले कोभिड १९ को महामारी कायमै रहेको भन्दै सतर्क सहत आम नागरिक र सरकारलाई सचेत समेत गराएको छ ।
संगठनका नेपाल प्रमुख जोस भ्यान्डेलरले नेपाल सरकारले लकडाउन खुकुलो पारे पनि कोरोना महामारी नटरेको उल्लेख गरे । लकडाउन खुकुलो भएपछि शहर बजारमा सर्वसाधारणको क्रियाकलाप बढेको छ । कार्यालय सञ्चालनमा आएका छन् । यस अवस्थामा सबै जना चनाखो र सुरक्षित हुनुपर्ने उनको भनाई छ ।
भ्यान्डेलरले सकेसम्म भिडभाडबाट टाढा रहन, जानै परे दूरी कायम गर्न, मास्क लगाउन र साबुन पानीले हात धुने सुझाव समेत दिएका छन् ।
लकडाउन सबैका लागि मुस्किलको समय रहेको भन्दै तर महामारी भने अझै पनि रहेको र थप संक्रमणको डर रहेको समेत उनको भनाई छ । ज्वरो, खोकी वा कुनै शंकास्पद लक्षण देखिएमा तुरुन्त स्वास्थ्यकर्मीलाई देखाउन उनले आह्वान गरेका छन् ।