न्युयोर्क
अमेरिकाका सबै राज्यमा अर्थतन्त्र खुल्ला गरिएसंगै एरिजोना, टेक्सस र फ्लोरिडा राज्यमा भने संक्रमितको संख्या लगातार उकालो लाग्न थालेको छ । यद्यपी मृतकको संख्या भने ती राज्यहरुमा पनि निरन्तर ओरालो लाग्दै गएको छ । स्वास्थ बिज्ञहरुले अहिले संक्रमित संख्या बढेर मृतकको संख्या घटेका फ्लोरिडा, एरिजोना र टेक्सस राज्यहरुमा पुन: मृतकको संख्यामा बृद्धि हुन सक्ने चेतावनी दिएका छन् । बिज्ञहरुले भनेका छन्; ‘कहिले काँही नयाँ संक्रमित बढेको केही समय पछाडि मात्र मृत्यु हुनेको संख्यामा ब्रिद्धी हुने गर्दछ’ । बिज्ञहरुका अनुसार ती राज्यहरुमा अत्याधिक युवा बर्ग जो उपचारको लागि अस्पतालसम्म नै पुग्दैनन् तर आफ्ना स्वास्थ जोखिममा रहेका अभिभाबकलाई संक्रमित गरेर उनिहरुलाई अस्पताल र मृत्युको मुखसम्म पुर्याउन भूमिका खेलिरहेका छन् ।
फ्लोरिडा जुन राज्यले अमेरिकामा सबैभन्दा पछाडि ‘स्टे एट् होम’ घोषणा गरेको थियो र सबैभन्दा पहिले अर्थतन्त्र खुल्ला गर्यो, त्यहाँ शनिबार ४ हजार नयाँ संक्रमित भेटिए भने आईतबार ३४ सय संक्रमित थपिए । त्यहाँ आईतबार १७ जनाको मृत्यु भएको थियो । टेक्सासमा शनिबार ४४ सय नयाँ संक्रमित भेटिएका थिए भने आईतबार ३८ सय थपिए । आईतबार टेक्सासमा पनि १७ जनाको मृत्यु भयो । एरिजोनामा आईतबार २४ सय नयाँ संक्रमित भेटिए भने ४ जनाको कोरोनाको कारण मृत्यु भयो ।
अमेरिकामा राष्ट्रियरुपमा भने नयाँ संक्रमितको पछिल्लो दिनको आँकडा ३२ हजार ५ सय छ । महामारी सबैभन्दा चरम बिन्दुमा पुगेको मध्ये-अप्रिलमा नयाँ संक्रमितको दैनिक संख्या ३६ हजारसम्म पुगेको थियो । दैनिक मृतकको आईतबारको आँकडा भने ५ सय ९५ छ । महामारी मध्य भएको अप्रिल मध्यमा दैनिक २५ सयसम्म मानिसले कोरोनाको कारण ज्यान गुमाएको जोन हप्किन्स युनिभर्सिटीको आँकडाले जनाएको छ । अमेरिकामा सोमबारसम्म २३ लाख संक्रमित र १ लाख २० हजार भन्दा धेरैको मृत्यु कोभिड -१९ को कारण भै सकेको छ ।