काठमाडौं । असार १५ कृषकका लागि महान दिन हो । यो दिन रोपेको मानो मंसिरमा मुरी बन्छ । यस दिनको अवसरमा सरकारले धान दिवस विशेष रुपमा मनाउने गरेको छ । तर, यस पटक भने विगतमा जस्तो रौनकका साथ धान दिवस मनाउन नपाइने भएको छ । असार १५ गते मनाइने राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सवमा यस वर्ष हिलो खेल्न नपाइने गरी सुरक्षा निर्देशिका बनेको छ ।
कोरोना महामारीको समयमा संक्रमण फैलिन नदिन कृषि विभागले बनाएको रोपाइँ महोत्सव प्रोटोकलमा हिलो खेल्ने र छ्याप्ने काम गर्न नपाइने उल्लेख गरेको हो । ‘रोपाइँ महोत्सव गर्दा अन्य सांस्कृतिक, परम्परागत तथा मनोरञ्जनात्मक नगर्ने कृषि विभागले तयार पारेको प्रोटोकलमा उल्लेख छ ।
अब अधिकतम २५ जनाको सहभागितामा मात्र महोत्सवका कार्यक्रम आयोजना गर्न पाइने छ । सुरक्षा मापदण्डको पूर्ण पालना हुनपर्नेछ । सामाजिक दूरीलाई समेत अनिवार्य पालना गर्नुपर्ने कृषि विभागको भनाइृ छ ।
सम्भव भएसम्म सहभागीको ज्वरो नापेर १००.४ डिग्री फरेन्हाइट भन्दा बढी तापक्रम देखिएमा खेत वा समुहमा प्रवेश दिइने छैन । महोत्सवमा प्रवेश गर्नुअघि मास्क लगाउने, साबुनपानीले हात धुने वा स्यानिटाइजर लगाउनुपर्नेछ । खाजा वा चिया खाने बेला, आवतजावत गर्दा कम्तीमा ६ फिटको दुरी कायम राख्ने, व्यक्तिगत सुरक्षार्थ मास्क लगाउने नियम पनि सरकारले बनाएको छ ।
रोपाइँ महोत्सवमा सम्भव भएसम्म सामूहिक खाजा निरुत्साहित गर्ने, कम श्रम लाग्ने प्रविधि वा मेसिन प्रयोग गर्ने, रोपाइँपछि साबुन पानीले हात धुने वा गुणस्तरीय स्यानिटाइजर लगाउने कृषि विभागको पोर्टोकलमा उल्लेख छ ।
यस वर्ष १७ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको औपचारिक कार्यक्रम उदयपुरमा हुँदैछ । यस कार्यक्रममा कषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले भाग लिँदैछन् । उदयपुरको त्रियुगा नगरपालिकामा विशेष कार्यक्रम आयोजना गरिने विभागले जनाएको छ ।