आज विदेशबाट १ हजार नेपाली घर आए, १६ शव नेपाल ल्याइयो

काठमाडौं । शुक्रबार पनि विदेशबाट नेपालीको उद्दारको काम जारी रह्यो । विभिन्न मुलुकबाट एक हजार ३ जना नेपाली आज घर फर्किएका छन् । उनीहरुलाई ल्याएर आएको जहाजले विदेशमा ज्यान गुमाउन बाध्य १६ नेपालीको शव समेत काठको बाकसमा राखी स्वदेश ल्याएका छन् । मलेसियाको क्वालालाम्पुरबाट आज धेरै यात्रु तथा शव ल्याइएको छ ।

आज मलेसियाबाट मात्र १४ वटा शव काठमाडौं ल्याइयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको तथ्यांक अनुसार क्लालाम्पुरबाट नेपाल एयरलाइन्सले जहाजले १४ शवसहित २४५ जना ल्याएर आएको थियो । हिमालय एअरलाइन्सको जहाजले सोही गन्तब्यबाट १४८ नेपाली र एक शव नेपाल ल्याएको हो ।

यूएईको सारजहाबाट एयर अरेबियाको जहाजले १६८ जना नेपालीलाई काठमाडौं अवतरण गरायो । बहराइनबाट नेपाल एयरलाइन्सका दुई वटा जहाजले २७३ जना नेपालीलाई घर फर्काएको छ । बहराइनबाट समेत एक नेपालीको शव काठमाडौं आएको छ ।

कुवेतमा आममाफीमा सहभागी १६० जना नेपाली पनि आज स्वदेश फर्किएका छन् । भिसाको नियम उल्लंघन गरेका १६० जना पुरुषलाई कुवेत सरकारले जजिरा एयरको जहाजमा राखेर नेपाल फर्काएको हो ।

कुवेतबाट यो ११ औं उडान हो । कुवेतमा आममाफी पाएका १७ सय २५ जना नेपाली उद्दार उडानका दौरान घर फर्किएका छन् ।