पोखरा । गण्डकी प्रदेशमा आज ३२ जनामा नयाँ कोरोना संक्रमित फेला परेका छन् । प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल, चितवनमा भएको परीक्षणबाट नयाँ संक्रमित थप भएका हुन् । ४ जिल्लामा कोरोना संक्रमित भेटिएको तथ्यांक छ । शुक्रबार नवलपरासीमा मात्र १९ जना नयाँ संक्रमित थप भएका छन् ।
कावासोती नगरपालिकाका २२ देखि ४९ वर्ष उमेर समूहका ११ जना पुरुषमा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ । सोही नगरपालिकाकै २३, २६ र ४० वर्षका ३ जना महिलामा कोरोना संक्रमण पुष्टी भएको छ । नवलपरासीको मध्यविन्दु नगरपालिकाका १० देखि ३३ वर्ष उमेर समूहका ४ जना पुरुष र ३० वर्षीय महिलामा पनि कोरोना संक्रमण देखिएको छ ।
तनहुँमा शुक्रबार ९ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश क्षयरोग प्रयोगशालामा गरिएको परीक्षण अनुसार तनहुँको भिमाद र ऋषिङ गाउँपालिकामा कोरोना संक्रमितको संख्या थपिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँ भिमाद नगरपालिकाका २२ र २४ वर्षको २ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । ऋषिङ गाउँपालिकाको २३ देखि ४७ वर्ष उमेर समूहका ७ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।
त्यस्तै पर्वतको बिहादी, पैयूँ र फलेबास नगरपालिकामा २९, १८ र ३४ वर्षका ३ पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । त्यस्तै बागलुङको जैमिनी नगरपालिकामा पनि २१ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । अब गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ६३ पुगेको छ । जसमध्ये २ जना संक्रमितको पोखरामा उपचारका क्रममा मृत्यु भएको थियो । प्रदेशभरि कोरोना भाइरसलाई जितेर घर फर्किनको संख्या २ सय ९६ छ ।