रेशम चौधरीलाई अस्पतालमै भेट्दै बाबुरामले भने, सत्तामा बस्नेले विगत बिर्से

काठमाडौं । टिकापुर काण्डमा कैद भोगिरहेका नेता रेशम चौधरी बिरामी भएर अस्पताल भर्ना भएका छन् । विर अस्पतालमा भर्ना भएका उनको खुट्टामा सरकारले नेल लगाएको छ ।

उक्त नेल १४ किलोको रहेको बताइएको छ । उक्त तस्वीर सार्वजनिक भएसँगै सरकारको व्यापक आलोचना भइरहेको छ ।

यसैबीच, समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले चौधरीलाई अस्पतालमै पुगेर भेटेका छन् ।

चौधरीलाई भेटेपछि बाबुरामले टुइट गर्दै भनेका छन्, टीकापुर थारु विद्रोहको क्रममा थुनामा रहनु भएका सांसद रेशम चौधरीलाई वीर अस्पतालमा मेरुदण्डसम्बन्धी उपचार गराइरहँदा १४ किलाको नेल र हतकडी लगाउनु कति मानवअधिकार र नियमसंगत हो ? आज सत्तामा बस्नेहरुले हिजोको गोलघरको यातना कति छिट्टै बिर्सेका हुन् ? यो हर्कत तुरुन्त बन्द गर ।

थारु आन्दोलनका क्रममा टिकापुरमा प्रहरी तथा नाबालकको हत्या भएको थियो । उक्त घटनामा दोषि ठहर भएछि चौधरी कैद भुक्तान गरिरहेका छन् । उनी प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसद पनि हुन ।

भट्टराईले प्रहरीबाट मारिएका विप्लवका नेता कुमार पौडेलको सम्बन्धमा पनि गम्भीर चासो राखेका छन् । भट्टराईले परिवारद्धारा प्रहरीले पक्रेर मारेको गुनासो सम्बन्धी समाचारमाथि टिप्पणी गर्दै नक्कल मेठभेडमा मारेको खबरलाई गम्भीर भनेका छन् ।

जनताले लडेर ल्याएको संघीयता लोकतान्त्रिक गणतन्त्रमा आज सत्तासीन बनेका हिजोका क्रान्तिकारीहरुले उही पुरानै सत्ताधारीहरुको हर्कत दोहोर्याउनु विडम्बनापूर्ण रहेको उनको भनाई छ । उनले घटनाको निष्पक्ष छानविनका लागि पनि आग्रह गरेका छन् ।