न्युयोर्क
कुनै दिन राष्ट्र कै कोरोना एपिसेन्टर बनेको न्युयोर्क सहरमा गत शनिबार ११ तारिख पहिलो पटक कोरोनाको कारण मृत्यु तथ्यांक शुन्य रह्यो । कोरोनाको कारण मार्च ११ तारिख पहिलो एक जनाको मृत्यु भएको न्युयोर्क सहरमा गत अप्रिल ७ तारिख सबैभन्दा धेरै ५ सय ९७ को मृत्यु भएको थियो ।
न्युयोर्क सहरमा कोरोनाको कारण शनिबार शुन्य मृत्यु भएपछि न्युयोर्क सिटी हलकी प्रबक्ता एभ्री कोहेनले एक बिज्ञप्तीमा भनेकी छिन्; ‘न्युयोर्क सहरबासीहरु कोरोना कहरमा एक अर्कालाई सुरक्षित राख्ने कुरामा सबैभन्दा माथि रहेर नायक साबित भएका छन्’ ।
न्युयोर्क सहरको ५ बोरोमा शनिबार कसैको पनि मृत्यु नभए पनि न्युयोर्क राज्यभरमा भने ५ जनाको मृत्यु भएको छ । न्युयोर्क सहरमा हालसम्म १८ हजार ६ सय ७० जनाको मृत्यु भई सकेको छ ।