काठमाडौं । सरकारले अत्यावश्यक नपरेसम्म सार्वजनिक यातायातमा नचढ्न सर्वसाधारणलाई सचेत गराएको छ । सार्वजनिक यातायात खुला गरेपनि यसले कोरोना भाइरसको संक्रमणलाई बिस्तार गर्न सहयोग पुग्ने भन्दै अति आवश्यक काम नपरेसम्म सार्वजनिक यातायात नचढ्न सरकारले सचेत बनाएको छ । सडकमा केही सार्वजनिक सवारी साधनले सेवा थालिसकेका छन् ।
स्वास्थ्य जनसंख्या मन्त्रालयले सार्वजनिक सवारीमा अनावश्यक यात्रा नगर्न आग्रह गरेको हो । कोरोनाको जोखिम टरिनसकेको भन्दै सर्वसाधारणको जनजीवन सहज होस भन्ने उद्देश्यले मात्र सार्वजनिक यातायात सञ्चालन गर्न दिइएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए । कोभिड१९ को समस्या समाधान भइसकेर सार्वजनिक यातायात सुचारु गरेको भन्ने नबुझ्न समेत उनले सर्वसाधारणलाई सचेत गराए ।
जनजीवनलाई कठिनाइका बाबजुत सावधानी अपनाएर अगाडि बढ्नुपर्ने अवस्था आएको उनको भनाई छ । सार्वजनिक यातायातको यात्रा कोभिडभन्दा पहिलाको अवस्था जस्तै सामान्य हो भन्ने रुपमा नबुझ्न उनले आग्रह गरे ।
सार्वजनिक यातायातमा यात्रा गर्नु पर्दा दूरी कायम गर्न र मास्क अनिवार्य प्रयोग गर्न समेत उनले आग्रह गरे । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।