काठमाडौं । आज देशका अधिकांश स्थानमा भारी वर्षा जारी छ । यसले बाढी, पहिरो र डुबानको जोखिम बढाएको छ । विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पानीजन्य प्रकोपले समस्या निम्त्याउन सक्ने सम्भावना रहेको छ । अहिले न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले साउन ९ गतेसम्म ठूलो वर्षाको सम्भावना रहेको हो ।
विभागका अनुसार प्रदेश २, प्रदेश ४, प्रदेश ५ र प्रदेश ७ का जिल्लाहरुमा अत्यधिक वर्षा भएको छ । मध्यमदेखि भारी वर्षाको सम्भावना जारी छ । यसले पहिरो, डुबान र बाढीको जोखिम क्षेत्रका बासिन्दा सतर्क रहनु पर्ने विभागको छ ।
मौसमपूर्वानुमान महाशाखाका अनुसार सोमबार देशैभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५, गण्डकी प्रदेशका केही स्थानहरुमा साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा हुने भएको छ ।
काठमाडौं उपत्यकाका धेरै स्थानमा मध्यम वर्षा मापन भएको छ । त्यसैले विष्णुमती, मनोहरा, हुनमन्ते, नख्खु लगायतका नदी तथा खोलामा बहाव सतर्कता नजिक छ । नदी र नालाको पानी किनारको सडकसम्म आउन सक्ने भएकाले अझै तीन घण्टा सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले बुलेटिनमार्फत आग्रह गरेको छ ।
बाढी सूचना केन्द्रका अनुसार अहिले बारा, पर्सा, रौतहटका धेरै स्थानमा भारी वर्षा भएको छ । थप वर्षा हुने सम्भावना छ । सोहीकारण लालबकैया र अन्य साना नदीमा आकस्मिक बाढी आउन सक्ने अनुमान छ । परासी, बर्दघाट, डण्डा बजारलगायत नवलपरासीका धेरै स्थानमा पनि भारी वर्षा मापन भएको छ ।
थप वर्षा हुन सक्ने भएकाले अरूणखोला, गिरूवारी खोला र नवलपरासीका साना नदी तटीय क्षेत्रमा एक्कासी बाढी आउन सक्ने सम्भावना रहेको छ । पश्चिम राप्ती, बाँकेको ढकेरी र आसपास पनि भारी वर्षा मापन गरिएको छ । यस क्षेत्रमा डुडवा खोला र आसपास एक्कासी बाढी आउन सक्ने र राप्ती नदीमा पनि जलसतह बढ्ने भएकाले डुबान भइरहने होचा स्थानमा दिउँसोसम्म सतर्क रहन बाढी सूचना केन्द्रले आग्रह गरेको छ ।