काठमाडौं । नेपाल वायुसेवा निगमले विदेशबाट स्वदेश फर्कने क्रममा तोकिएभन्दा बढी भाडा नतिर्न आफ्ना यात्रुलाई सचेत गराएको छ । आफ्नो कम्पनीबाट तोकिएको भन्दा बढी भाडा नतिर्न यात्रुलाई आहृवान गरेको हो । उद्धार उडानका लागि निगमले तोकेको विभिन्न मुलुकको भाडादर वेवसाइटमा सार्वजनिक रुपमा राखिएको र सो भन्दा बढी भाडा नतिर्न निगमले यात्रुलाई सचेत गराएको हो । उक्त मूल्यभन्दा बढी अस्वभाविक मूल्य यात्रुबाट लिएर टिकट काटिदिने गरेको भन्दै यसरी टिकट काट्ने मान्छेबाट टिकट खरीद नगर्न समेत निगमले सचेत गराएको छ । कम्पनीको फोन नम्बरमा सम्पर्क गरी आधिकारिक निकायबाट मात्र टिकट किन्न समेत निगमले यात्रुसँग आग्रह गरेको छ ।
कतिपय व्यक्ति तथा संस्थाले यात्रुबाट अस्वाभाविक रुपमा बढी मूल्यमा टिकट बिक्री गरेको भन्ने गुनासो आएको निगमले जनाएको छ । कतिपय व्यक्ति वा संस्थाले यात्रुलाई सहजै टिकट मिलाईदिने भनी आफ्नो सम्पर्क नं सहित विभिन्न संचार माध्यममा सुचना प्रकाशित गरेको बुझिएकाले त्यस्ता व्यक्ति वा संस्थाको भ्रममा नपर्न सम्वन्धित सबैलाई आग्रह समेत गरिएको छ ।
उडान तालिकामा रहेका बाहेक अन्य गन्तव्यमा उडान नगरिएको भन्दै त्यस्तो गन्तब्यको टिकट नकाट्न समेत निगमले आग्रह गरेको छ । कम्पनीले संकटको समयमा सहुलितपूर्ण भाडादरमा उडान गरेको भन्दै विचौलियाबाट महंगो मूल्यमा टिकट नकिन्न निगमले आहृवान गरेको हो । निगमको वेवसाइटमा प्रकाशित भाडादर भन्दा बढी असुलेर कुनै व्यक्ति वा संस्थाले टिकट बिक्री गरेको प्रमाणित भए प्रचलित कानुन बमाजिम कारवाही हुने चेतावनीसमेत कम्पनीले जनाएको छ ।