कोरोनाले पछील्लो एक सातामा विदेशमा एक नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण पछिल्लो एक सातामा विदेशमा एक जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संगठन (एनआरएनए)ले संकलन गरेको विवरण अनुसार एक सातामा नेपाल बाहिर एक जना नेपालीको ज्यान गएको हो एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता बेलायतमा एक जना नेपालीले ज्यान गुमाउनु परेको छ ।

एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार शनिबार साँझसम्म विदेशमा मात्रै कोरोनाबाट मृत्यु हुने नेपालीहरुको संख्या १ सय ६१ पुगेको छ । नेपालमा अहिलेसम्म ४५ जनाको ज्यान गएको छ । यसरी हेर्दा कोरोनाका कारण विश्वभर नेपालीको मृत्यु संख्या २०६ पुगेको हो । एनआरएनएको स्वास्थ्य समितिका अनुसार ३६ मुलुकमा २९ हजार २ सय ४३ जना नेपाली कोरोना संक्रमणमुक्त बनेका छन् ।

अघिल्लो साता अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये अधिकांश संक्रमणमुक्त भएका थिए । तर, यो साता त्यहाँ संक्रमणदर केही बढेको छ । यूएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा पनि यो साता संक्रमण बढेको छ । नेपालमा समेत पछिल्लो ४ दिन संक्रमण दर उकालो लाग्ने क्रममा रहेको छ । अहिले नेपालमा लक्षणसहितका बिरामी भेटिन थालेका छन् । यसले जोखिम समेत बढाएको छ ।