आजबाट फेरी मनसुन, जोखिम बढ्ने

काठमाडौं । नेपालमा आजबाट पुनः मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबारबाट शुक्रबारसम्म मनसुन सक्रिय हुनेछ । मनसुनका कारण कतिपय स्थानमा भारती वर्षातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसमी बुलेटिन अनुसार प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशहा ठूलो वर्षाको सम्भावना रहेको छ ।

चितवन, धादिङ, तनहुँ, स्याङ्जा, कास्की, पाल्पा, गुल्मी, नवलपरासी, कपिलवस्तु, रूपन्देही लगायत जिल्लामा भारी वर्षा भएको महाशाखाले जनाएको छ । कास्कीको लुम्ले र स्याङ्जास्थित वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको महाशाखाले उल्लेख गरेको छ । जसले गर्दा लम्जुङ, पर्वत र आसपासका जिल्ला भई बग्ने मोदीखोलालगायत साना नदीमा आकस्मिक बहाबको सम्भावना छ ।

बुटवलमा तिनाउ नदीको बाढीले सोमबार बिहान चार बजे सतर्कताको तह पार गरेको बताइएको छ । बिहान सात बजेको मापनमा भने सतर्कताको तहभन्दा घटेको छ । नदी किनारमा रहेका बासिन्दालाई सचेत रहन महाशाखाले आग्रह गरेको छ । सोमबार र मंगलबारको तुलनामा बुधबार बढी वर्षाको सम्भावना छ । बुधबार बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा ‘धेरै भारी वर्षा’ हुनेछ ।