विराटनगर । विराटनगर महानगरपालिकामा लकडाउन कडा गरिएको छ । कोरोना भाइरसको संक्रमणको डरसँगै विराटनगरमा लकडाउन कडाई थालिएको हो । अब बिराटनगरमा अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने निर्णय भएको छ । खासगरी सीमावर्ती भारतमा तिब्र रुपमा फैलिएको कोरोना र जवजस्र्ती नेपाल छिर्ने भारतीय नागरिकका कारण अहिले नेपालमा कोरोनाको जोखिम बढेको छ ।
भारतमा करीव दैनिक एक लाखको दरले संक्रमित बढिरहेका छन् । विहार राज्य बढी प्रभावितमध्ये एकमा परिसकेको छ । यस अवस्थामा नेपालका सीमावर्ती शहरमा जोखिम बढेको हो । विराटनगरमा नगर तथा वडा कार्यालयले प्रदान गर्ने अत्यावश्यक सेवा दमकल, एम्बुलेन्स, स्वास्थ्य, सरसफाइ, राजश्व व्यवस्थापन, सामाजिक सुरक्षा तथा अत्यावश्यक सिफारिस बाहेक अन्य सबै सेवा स्थगित गर्ने निर्णय भएको छ ।
भारतीय सीमावर्ती क्षेत्रबाट हुने आवतजावतमा कडाइ, सिटी रिक्सामा सामाजिक दूरी कायम गर्ने तथा चोक, बजारमा भीडभाड गरेर लाग्ने पसल व्यवसाय सकेसम्म सञ्चालन नगर्न आग्रह गरिएको छ । पीसीआर परीक्षणको दायरा बढाउन पहल गर्ने, क्वरेण्टीन स्थल थप गर्ने, आइसोलेशनलाई थप व्यवस्थित बनाउन प्रदेश सरकारलाई आग्रह गर्ने, सभासमारोह गर्न नदिने लगायत निर्णय समेत महानगरले गरेको छ ।