काठमाडौं । नेपालको नक्सा परिवर्तन गर्न भएको संविधान संशोधन सम्बन्धी विधेयकको विरोध गरेपछि पार्टीको कारवाहीमा परी सांसद पद गुमाएकी सरिता गिरीको स्थानमा लीलादेवी सिटौला सांसद घोषित भएकी छिन् । निर्वाचन आयोगले समाजवादी पार्टीको सिफारिसमा सरिता गिरीको ठाउँमा लीलादेवी सिटौलालाई प्रतिनिधिसभा सदस्य निर्वाचित भएको घोषणा गरेको हो ।
समाजवादी पार्टीले समानुपातिक पद्धति अन्तर्गत निर्वाचित गर्नुपर्ने खस आर्य समूहको रिक्त भएको महिला सदस्यमा सिटौलाको नाम सिफारिस गरेको अनुसार उनलाई निर्वाचित भएको घोषणा गरिएको हो । गिरीले पार्टीको ह्वीप उल्लङ्घन गरेको आरोपमा कारवाहीमा परेकी हुन् । अब सिटौलालाई सांसदको रुपमा प्रतिनिधिसभाको सभामुखबाट शपथ ग्रहण गराइने भएको छ । संविधान संशोधनको विपक्षमा उभिएपछि सांसद गिरीको भने चर्को आलोचना भएको थियो ।