न्युयोर्क
अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी राष्ट्रपति निर्वाचन सार्न प्रस्ताव गरेका छन् । अमेरिकी अर्थतन्त्रको दोश्रो त्रैमासिक अप्रिलदेखि जुनसम्म ३३ प्रतिशतले गिरावट आएको समाचार सार्वजनिक भए लगत्तै ट्रम्पले नोभेम्बर ३ मा हुने राष्ट्रपति निर्वाचन सार्नु पर्ने प्रस्ताव गरेका छन् । ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचन ईतिहासमा नै सबैभन्दा अपारदर्शी र धाँधलीपूर्ण हुने भन्दै आफ्नो ट्विटर एकाउन्टमा निर्वाचन नै सार्नु पर्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले महामारीको कारण हुलाकबाट मत पत्र पठाउने कुराको बिरोध गर्दै आगामी राष्ट्रपति निर्वाचनलाई अमेरिकी ईतिहास कै लज्जाजनक निर्वाचन हुने भन्दै निर्वाचन नै सार्नु पर्ने बताएका छन् । उनले जबसम्म जनताले सुरक्षित तबरले मतदान गर्न सक्दैनन तबसम्मका लागि निर्वाचन नै लम्ब्याउनु पर्ने तर्क ट्विटरमा गरेका छन् ।
कोरोना महामारीका कारण मृतकको संख्या डेढ लाख नाघ्दै गर्दा पछिल्लो समय अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियतामा लगातार गिरावट आईरहेको बिभिन्न्न पोलहरुले देखाएका छन् । ती पोलहरुले उनको बिपक्षी दलका प्रतिद्वन्दीलाई लगातार बलियो पोजिसनमा देखाउँदै आएको छ भने हालै राष्ट्रपति ट्रम्पले आफ्नो चुनाव प्रचार समितिको प्रमुख समेत फेरेका छन् ।