वीरगन्ज । नेपालमा वीरगन्जमा कोरोनाले ठूलो मानवीय क्षति गरिरहेको छ । यसैक्रममा बिहीबार थप दुई जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । वीरगन्जमा ३५ र ६५ बर्षीय पुरुषको बिहीबार ज्यान गएको हो । अब नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउने बिरामीको संख्या ५४ पुगेको छ । यी मध्ये ८ जनाको ज्यान पर्सामा मात्र भएको छ ।
उनीहरु सबैको साउनमा ज्यान गएको छ । यसअघि वीरगन्जमा बाराका २ जना र रौतहटका एक जनाको मृत्यु भएको थियो । वीरगन्जमा समुदाय स्तरमा कोरोना फैलिएको छ । सोहीकारण दीर्घरोग लागेका धेरैलाई कोरोना भाइरसले क्षति पुर्याएको छ । अहिले वीरगन्ज महानगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।
विहीबार वीरगञ्ज–१६ नगवाका ३५ बर्षीय पुरुषको गण्डक कोरोना अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ज्वरो आउने, श्वासप्रस्वासमा समस्या लिएर उनी मंगलबार अस्पताल आएका थिए । उनको उपचारका क्रममा बिहीबार बेलुकी मुत्यु भएको अस्पतालले जनाएको छ । उता, वीरगञ्जमा बिहान घरमै मृत्यु भएका थप एक जनामा समेत कोरोना देखियो ।
वीरगञ्ज–२ छपकैयाका ६५ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको घरमा ज्यान गएको जानकारी आएपछि नारायणी अस्पतालको टोलीले गएर स्वाब संकलन गरेको थियो । बेलुका उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।