कोरोना भाइरसबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा जहिलै किचलो

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन सम्बन्धमा निर्देशिक बनाएको छ । सोहीअनुसार हुने शव व्यवस्थापनमा स्थानीयबाट हुने अवरोध र प्रशासनले स्थानीयलाई आश्वस्त पार्न नसक्दा शव व्यवस्थापनमा हरेक पटक किचलो उत्पन्न हुने गरेको छ । यो देशभर देखिएको समस्या हो ।

पछिल्लो समय पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीय अवरोध गरेका छन् । सो क्रममा स्थानीय र प्रहरीबीच झडपसमेत भएको छ । स्थानीयको अवरोध हुँदाहुँदै पनि प्रशासनले संक्रमितको शव भने व्यवस्थापन गरेको छ । वीरगञ्ज महानगरपालिका–३१ मिलनचोकमा स्थानीय र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा प्रहरीले आधा दर्जन सेल अश्रु ग्यास प्रहार गरेको छ ।

शव व्यवस्थापन गाउँ नजिकैको जगंलमा गर्न नदिने भन्दै मिलन चोक, नौकाटोल र पसरामपुरका बासिन्दा प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनकारीले प्रहार गरेको ढुंगा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तलाई समेत लागेको हो । ७ जना प्रहरी सामान्य घाइते रहेको पर्सा प्रहरीले जनाएको छ । शव व्यवस्थापनका लागि जंगल क्षेत्रमा जाने क्रममा नेपाल प्रहरी र नेपाली सेनाको टोलीलाई मिलन चोकमा स्थानीयले ढुंगा प्रहार गरेका थिए ।

त्यसपछि अवस्था तनावग्रस्त बनेको हो । भिड नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यास हानेको थियो । गाउँ नजिकै जंगलमा शव गाड्दा आफूहरुलाई हानी गर्न सक्ने डरले स्थानीयले विरोध गरेको स्थानीयको भनाई छ । १५ साउनमा वीरगञ्जमा कोरोना भाइरसका कारण तीन जनाको ज्यान गएको थियो । उनीहरु सबैको शव शुक्रबार राती व्यवस्थापन गरिएको हो ।