आज विभिन्न स्थानमा वर्षा, सचेत रहन आह्वान

काठमाडौं । आज देशभर विभिन्न जिल्लामा भारी वर्षा हुने सम्भावना छ । अहिले पनि कतिपय जिल्लामा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी वायु सक्रिय भएसँगै मुलुकका अधिकांश स्थानमा भारी वर्षा हुने भएको छ । विभागका अनुसार मनसुनी न्यून चापीय रेखा अहिले नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ ।

सोहीकारण प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा वर्षा भइरहेको छ । प्रदेश १ र २ का विभिन्न ११ जिल्लामा राति देखि नै लगातार वर्षा भइरहेको विभागको भनाई छ । विभागको बाढी सूचना केन्द्रका अनुसार सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी र आसपास हल्का देखि मध्यम बर्षा भइरहेको छ । धनकुटा, उदयपुर, भोजपुर, खोटाङ, ओखलढुङगा, सिन्धुली र आसपास पनि मध्यम बर्षा भईरहेको छ ।

शुक्रबार दिउँसो देशभर सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको समेत विभागले उल्लेख गरेको छ । शनिबार दिउँसोबाट भने बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थनमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । सोहीकारण नदी किनार र पहिरोका जोखिम हुने क्षेत्रमा सचेत रहन विभागले आह्वान समेत गरेको छ ।