काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको जोखिम कम गर्नका लागि १५ दिन अत्यावश्यकबाहेकका कार्यालय बन्द हुने भएको छ ।
उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले कोरोना संक्रमण बढेको भन्दै आइतबारदेखि लागु हुनेगरी बन्द गर्ने निर्णय गरेका हुन् ।
शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु र उद्योग वाणिज्य संघ, सुरक्षा निकायका प्रमुख तथा स्वास्थ्य कार्यालयका प्रमुखसहितको बैठकलेबाट उक्त निर्णय भएको स्रोतले जनाएको छ ।
उक्त अवधिभरमा जिल्ला प्रशासन कार्यलयबाट हुने केही विशेष कामबाहेकका सेवा बन्द हुने छ । जिल्ला प्रशासन कार्यलयबाट सार्वजनिक मुद्दा, पास वितरण र शान्ति सुरक्षाको काममात्रै हुने छ ।
बैंठकले स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडाइको साथ पालना गराउने र स्थानीय तहहरुलाई कोरोना महामारीबाट बच्नको लागि तयारी अवस्थामा रहन आग्रह गर्ने निर्णय पनि भएको जनाइएको छ ।
काठमाडौं उपत्यकामा सरकारी कार्यालय, सुरक्षा निकाय तथा बैंकको कर्मचारीहरुमा संक्रमण बढ्दै गएको छ । संक्रमणको दर बढेको र त्यसमा पनि सरकारी कार्यालयहरुमा बढी देखिन थालेपछि यस्तो सरकारले उच्च सुरक्षा सतर्कता अपनाउन भनेको छ ।