नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो, कुन प्रदेशमा कति ?

काठमाडौं  । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा उपचारको क्रममा रहेको चार जना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोरङको विराटनगर महानगरपालिका-१५ का ३० वर्षीय पुरुष, सिराहको विष्णुपुर गाउँपालिका-१ का ४० वर्षीय पुरुष, बाराको जीतपुर–सिमरा उपमहानगरपालिकाका–४ सिमरा टोलका ५० वर्षीय पुरुष र बाराकै प्रसौनी गाउँपालिका–२ प्रसौनी टोलका ६५ वर्षीय पुरुष रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ। प्रदेश अनुसार कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रदेश २ मा मृत्यु भएको छ ।

प्रदेश १ मा ९ जना पुरुष, प्रदेश २ मा ३१ पुरुष र महिला ११ गरी ४२ जना, वागमती प्रदेशमा १३ पुरुष र ५ महिला गरी १८ जना, गण्डकी प्रदेश ६ पुरुष, प्रदेश ५ मा ९ पुरुष र ३ महिला गरी १२ जना, कर्णाली प्रदेशमा ४ पुरुष र सुदूरपश्‍चिममा ५ पुरुष र ३ महिला गरी ८ जनाको मृत्यु भएको छ ।