वीरगन्ज । पर्सा र बारामा शनिबार थप २३ जनामा कोरोना संक्रमण भएको छ । ७ महिलासहित २३ जनामा कोरोना पुष्टी भएको हो । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । संक्रमित हुनेमा डाक्टरसमेत छन् ।
नारायणी बयोधा अस्पतालमा क्यान्टिन चलाउने व्यक्तिमा समेत कोरोना पुष्टी भएको छ ।
वीरगञ्जको हिमाल भान्छाघरमा क्वारेन्टिनमा बसेका व्यक्तिमा समेत कोरोना देखिएको छ । उच्च सरकारी वकिल कार्यालयका कर्मचारी, स्वाबलम्बन लघुवित्त संघका सब म्यानेजर, नेपाल इन्भेष्टमेन्ट बैंक जीतपुर शाखाका कर्मचारीमा समेत शनिबार कोरोना देखिएको हो ।
उता, पर्सामै कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिकाको मुर्ली बस्ने ६० वर्षीय पुरुषको मृत्यु भएको हो । उनको शुक्रबार साँझ ज्यान गएको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकले जानकारी दिएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनी साउन २४मा गण्डक कोभिड अस्पतालमा भर्ना भएका थिए । उनी उच्चरक्तचाप, मधुमेह तथा प्यारालायसिसका बिरामी थिए ।