काठमाडौं । नेपाल अहिले लकडाउन मुक्त देश हो । विश्वभर कैयौं मुलुक कडा लकडाउनको अवस्थामा रहेपनि नेपाल भने त्यसबाट मुक्त छ । तर, देशको झण्डै आधा भन्दा बढी क्षेत्र र जिल्लामा भने निषेधाज्ञा लागु छ । जहाँ पूर्ण लकडाउन नभएपनि अत्यावश्यक बाहेक धेरैजसो सेवा बन्द भएका छन् । त्यसो त सरकारले पनि बढी भिडभाड हुने क्षेत्रबाट प्रवाह हुने सेवा बन्द गरिसकेको छ ।
अनलाइनबाट सम्भव नभएको काम तत्कालका लागि बन्द छ । कोरोना सङ्क्रमितको संख्या थपिदै गएपछि जिल्ला र स्थानीय तहलाई निषेधाज्ञा लगाउन सक्ने अधिकारी दिइएको छ । अहिलेसम्म ४१ जिल्लामा आंशिक तथा पूर्ण लकडाउन गरिएको गृह मन्त्रालयको तथ्यांक छ । मन्त्रालयकाअनुसार २८ जिल्लामा स्थानीय प्रशासनले सङ्क्रामक रोग नियन्त्रण ऐन अनुसार निषेधाज्ञा जारी गरेका छन् ।
काठमाडौं उपत्यकाका घोषित निषेधाज्ञा छैन । तर, कडाई भएको छ । प्रवेशमा करीव निषेध छ । भक्तपुरको मध्यपुर थिमिमा लकडाउन छ ।काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले भने अत्यावश्यक बाहेकका सेवा तथा व्यवसाय बन्द गर्ने निर्णय लिएको छ । दुई सयभन्दा धेरै सङ्क्रमित भएको जिल्लालाई रेडजोनमा राख्ने निर्णय यसअघि नै सरकारले गरेको हो । अहिले काठमाडौं, मोरङ, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र बाँके रेडजोनमा छन् ।