काठमाडौं । गैरआवासीय नेपाली भिसा अब काठमाडौंबाहेक मोसफलका अध्यागमन कार्यालयबाट समेत जारी तथा नविकरण हुने भएको छ । अध्यागमन विभागका अनुसार अब काकडभिट्टा र पोखरास्थित अध्यागमन कार्यालयले समेत गैरआवासीय भिषा प्रदान र नविकरण गर्नेछन् । यससँगै अब भिसा नवीकरण तथा नयाँ जारी गर्न काठमाडौं आइरहनुपर्ने बाध्यता हटेको हो । विभागका अनुसार साविकमा विभागबाट मात्र यस्तो भिसा जारी र नवीकरण हुँदै आएको थियो ।
अब गैर आवासीय नेपाली भिसा तथा गैरपर्यटक नाता भिसा मोफसलबाट पनि उपलब्ध हुने भएको हो । विभागले लकडाउनपछि नेपालमै अड्किएका पर्यटकको भिसामा समेत सहजीकरण गरिदिएको जानकारी गराएको छ ।
विभागका अनुसार २०२० मार्च २१ सम्म भिसा नियमित भएका विदेशी अन्तर्राष्ट्रिय उडान सूचारु भएको मितिले १५ दिन भित्र नेपालबाट प्रस्थान गर्ने भएमा अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र सीमानास्थित अध्यागमन कार्यालयबाटै निःशुल्क भिसा नियमित गरी आफ्नो मुलुक जान सक्ने भएका छन् ।
तर, यसरी १५ दिन भित्र समेत आफ्नो मुलुक र्फकन नसक्ने पर्यटक तथा गैरआवासीय नेपालीको हकमा साउन ३० सम्मको अवधिको निःशुल्क र त्यसपछिको अवधिको बढीमा मंसिर मसान्त (डिसेम्बर १५ २०२०) सम्म नियमअनुसार भिसा शुल्क लिएर पर्यटक भिसा नियमित गर्न सक्ने निर्णय सरकारले गरेको छ ।
यसअघि विभागले चैत ८ २०७६ सम्म जुनसुकै भिसा नियमित भएकाको भिसा ३० साउन २०७७ सम्म नियमित गरेमा विलम्ब शूल्क र जरिवाना नलाग्ने निर्णय विभागले गरेको थियो । साथै सरकारले अब पर्यटन भिसामा आएका विदेशी नागरिकले भिसा परिवर्तन गर्न चाहेमा समेत अध्यागमनको सेवा खुलेको १५ दिन भित्र निःशुल्क गर्न सक्ने जनाएको छ ।
८ चैतसम्म पर्यटक भिसा नियमित भएका १५० दिनसम्म निशुल्क पर्यटक भिसा प्राप्त गर्ने विदेशी पर्यटकको हकमा उनीहरुको नेपाल बसाई अवधि १ सय ५० दिन नाघेको भए पनि ३० साउनसम्मको अवधिको निःशुल्क नविकरण गरिने विभागले उल्लेख गरेको छ ।