काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्रको विवाद समाधानको उपायसहितको सुझाव दिन गठन भएको कार्यदलले आफ्नो प्रतिवेदन शनिबार दुबै अध्यक्षलाई बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)लाई कार्यदलले प्रतिवेदन बुझाएको हो। साउन ३० मा गठित कार्यदलले आफ्नो प्रतिवेदन सर्वसम्मतिले तयार पारि बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
उक्त कार्यदलले प्रधानमन्त्री सरकारको काममा केन्द्रित हुने र प्रचण्डले पार्टी संचालन गर्ने गरी सहमति खोजिएको छ । दुई अध्यक्षले पार्टी भित्रको विवाद मिलाउन महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहेको कार्यदल बनाएका थिए। कार्यदलले तत्कालका लागि पार्टीभित्रको विवाद साम्य पार्दै सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी हुँदै एकता महाधिवेशन सम्म जाने गरी सुझाव दिएको छ ।
अब ओली सरकारको काममा केन्द्रित हुनेछन् । दाहाललाई भने पार्टीको पूर्ण अधिकार दिइने छ । मन्त्रिपरिषद् र मुख्यमन्त्रीमा हेरफेर गरिनेछ । अब सरकारले कुनै निर्णय लिँदा एकलौटी गर्न पाउने छैन । पार्टी एकताका बाँकि काम सकेर महाधिवेशन तयारी थाल्ने गरी सहमतिको प्रयास कार्यदलले गरेको छ ।
राजनीतिक नियुक्तिमा पार्टीसँग सहमति दिनुपर्ने प्रस्ताव समेत गरिएको छ । यसअघि पार्टीमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनु पर्ने माग उठेको थियो । तर, पार्टीको सल्लाहमा सरकार संचालन गर्न तयार भएमा ओलीले राजिनामा दिनु नपर्ने गरी सहमतिको प्रस्ताव गरिएको नेकपा स्रोतको भनाई छ ।