काठमाडौं । सिन्धुपाल्चोकको लिदी पहिरोका विस्थापितको स्थानान्तरण हुने भएको छ । उनीहरुलाई जुगल गाउँपालिकाको वडा नम्बर १ सेलाङस्थित बाँसखर्क भन्ने स्थानमा सारिने भएको छ । सो स्थानमा अस्थायी वस्ती निर्माणको काम शुरु भइसकेको छ । टेन्ट जोड्ने तथा सुरक्षाको प्रबन्ध मिलाउने काम प्रारम्भ भएको स्थानीय प्रशासनले जानकारी दिएको छ । चरणमा १ सय २१ परिवारलाई टेन्टमा राखिने छ ।
त्यसका लागि सुरक्षा निकायले काम थालेको हो । यहाँ १ सय ७२ घरपरिवारमध्ये अहिलेसम्म सार्नुपर्ने गरी १ सय २१ परिवारको पहिचान भएको छ । बस्ती स्थानान्तरणका लागि विभिन्न जिम्मेवारी छुट्याइएको छ । जसअनुसार जिल्ला विपद् व्यवस्थापन समितिले आवश्यक टेन्ट उपलब्ध गराएको छ । जुगल गाउँपालिका कार्यालयले बाँसखर्कमा रहेको खुल्ला क्षेत्रमा जग्गा सम्याउने, शिविर व्यवस्थापन गर्ने तथा सडक पूर्वाधारको व्यवस्थापन गर्दैछ ।
जिल्ला आयोजना कार्यान्वयन इकाईले आवास व्यवस्थापन र डिभिजन खानेपानी कार्यालयले खानेपानीको व्यवस्थापन मिलाउदैछ । जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य सेवाको प्रबन्ध मिलाउने छ । रेडक्रसले शौचालय व्यवस्थापनको जिम्मा लिएको छ । सिन्धुपाल्चोकको लिदीमा ३० साउनमा भीषण पहिरो गएको थियो । पहिरोमा हराएका ३९ मध्ये ३२ जनाको शव फेला परिसकेको छ ।