काठमाडौं । काठमाडौं उपत्यकामा अहिले निषधाज्ञा जारी रहेको छ । यस्तो निषेधाज्ञा १० भदौसम्म कायम रहनेछ । जिल्ला प्रशासन कार्यालयहरुले तरकारी, खाद्यान्न लगायत अत्यावश्यक वस्तुको किनमेलमा यसअघि निर्धारण गरेको समयमा बढी भिडभाड भएको भन्दै समय थप गर्ने निर्णय गरेका छन् । अब काठमाडौं उपत्यकामा बिहान सवा ९ बजेसम्म तरकारी, फलफूल र खाद्यान्न पसल सञ्चालन गर्न सकिने भएको छ ।
यसअघि ८ बजेसम्म मात्र पसल खोल्न सकिने प्रावधान थियो । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो । यो व्यवस्था लागू गर्नका लागि सम्बद्ध सबै निकायलाई निर्देशन दिइएको छ । औषधि, पानीलगायत पसलको हकमा भने यो सीमा लागु हुने छैन । यसअघि कतिपय स्थानमा ७ बजे नै प्रहरीले पसल बन्द गराएको भन्दै आलोचनासमेत भएको थियो ।