हङकङ । कोरोना भाइरसको संक्रमण लागेर निको भइसकेका एक व्यक्तिमा हङकङमा संक्रमण भेटिएको छ । हङकङमा एक व्यक्तिमा पुनः कोरोना भाइरसको संक्रमण भएको पहिलो घटना सार्वजनिक भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । यो दुर्लभ घटना भएको भन्दै वैज्ञानिकहरु अनुसन्धानमा जुटेका छन् ।
३० वर्षभन्दा बढी उमेरका संक्रमित पुरूषमा पहिलो पटक साढे चार महिना अगाडी कोरोनाबाट संक्रमित भएका थिए । वैज्ञानिकका अनुसार यो पहिलो घटना हो । उता, विश्व स्वास्थ्य संगठनले भने एउटै संक्रमितका आधारमा कुनै निष्कर्ष निकाल्न नहुने प्रतिक्रिया दिएको छ । विशेषज्ञका अनुसार भाइरसबाट पुनः संक्रमित हुनु दुर्लभ हो, तर यो अधिक गम्भीर छ भन्नु ठीक भने हतार हुने बताउँछन् ।
हङकङ विश्वविद्यालयले सार्वजनिक गरेको रिपोर्टमा संक्रमणबाट ठीक हुनु पहिले ती व्यक्ति १४ दिनसम्म अस्पतालमा बसेका थिए । विमानस्थलमा गरिएको जाँचका क्रममा उनमा संक्रमण देखिएको छ ।
तर लक्षण भने छैन। लन्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल साइन्सका प्रोफेसर ब्रेन्डन रेनले पुनः संक्रमित हुनु एकदमै दुर्लभ घटना भएको प्रतिक्रिया दिन्छन् । सोहीकारण पनि खोप अत्यावश्यक भएको उनको भनाई छ । संक्रमित व्यक्तिमा भाइरससँग लड्ने क्षमता विकास हुने र त्यसले पुनः संक्रमित हुनबाट जोगाउने चिकित्सकहरुले बताउँदै आएका छन् ।