काठमाडौं । नेपाली स्टार सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा जारी छ । लगातार पाँचौ खेलमा इकोनोमी बल फाल्दै विकेट लिन सफल सन्दीप चलेको खेलमा उनको टोली जमैका तलाबाज भने पराजित भएको छ । तलाबाज बार्बाडोस ट्रिडेन्ससँग ३६ रनले हारेको हो ।
आज बिहान सम्पन्न खेलमा बार्बाडोसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४८ रन बनाएको थियो । १ सय ४९ रनको लक्ष्य पाएको जमैकाले २० ओभरमा ९ विकेट गुमाएर मात्र ११२ रनमात्रै बनायो ।
जमैकाले कुल पाँच खेलबाट मात्र २ खेल जितेको छ । तर, सबै खेलमा सन्दीपले विकेट लिएका छन् । उनले ५ खेलमा ७ विकट झारिसकेका छन् । आज उनले ४ ओभरमा मात्र १६ रन दिएर २ विकेट लिए । उनले रसिद खान र एस्ली नर्सको विकेट झारेका छन् ।