काठमाडौं । नेपालमा कोरोनाबाट गम्भीर रुपले बिरामी भएका व्यक्तिको उपचारमा प्लाज्मा थेरापी विधि प्रभावकारी बन्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस विधिको उपचारबाट अहिलेसम्म २० जना कोरोना संक्रमितले स्वास्थ्य लाभ प्राप्त गरेका छन् । यो विधि पछिल्लो समय भारत र अमेरिकामा समेत उपयोग भइरहेको छ ।
नेपालमा महिला र पुरुष दुबैमा प्रभावकारी रुपमा यो विधिले काम गरिरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार अहिलेसम्म ४२ जना व्यक्तिले प्लाज्मा दान गरेका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, बुटवल र काठमाडौंमा गरी अहिलेसम्म ४२ जनाले आफ्नो प्लाज्मा दान गरेका हुन् । कोरोनाबाट गम्भीर बिरामी हुने व्यक्तिमा प्लाज्मा थेरापी विधिबाट उपचार हुन थालेको हो ।
नेपालमा यस विधिबाट सफल उपचार हुन थालेपछि सरकारले १५ वटा अस्पतालमा यो विधिबाट हुने उपचार बिस्तार गरिसकेको छ । कोरोनालाई जित्न सफल स्वस्थ व्यक्तिको रगत गम्भीर बिरामीमा ट्रान्सफर गरी उपचार गरिन्छ ।