कन्चनपुरमा उच्च ज्वरोले ६ को मृत्यु, अनुसन्धान गर्न टोली फिल्डमा

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण ६ जनाको ज्यान गएको छ । यसबारेमा अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयबाट स्वास्थ्यकर्मीको टोली फिल्डमा पुगेको छ । शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृतकका आफन्त र बिरामीको रगतको नमूना संकलन गरी जाँचका लागि काठमाडौंस्थित प्रयोगशाला पठाएको निर्देशनालयले जनाएको छ ।

पछिल्लो दुई हप्तामा उच्च ज्वरोकै कारण ६ जनाको ज्यान गएपछि अनुसन्धानका लागि टोली परिचालन भएको हो । यहाँ जापानीज इन्सेफ्लाइटिस वा मेनेन्जाइटिसको संक्रमण भएको आशंका गरिएको छ ।

फिल्डबाट १० जनाको रगतको नमूना संकलन गरी जाँच गर्न काठमाडौं पठाइएको निर्देशनालयले जनाएको छ । उच्च ज्वरो आएर बिरामी परेका अन्य ६ जनाको भने उपचार भइरहेको छ । कोरोना महामारीका बीच उच्च ज्वरोले मानिसहरुको ज्यान जान थालेपछि यस भेगमा त्रास बढेको हो ।