काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको अवधि आज सकिदैछ । आज राती १२ बजेबाट यसको अवधि समाप्त हुनेछ । तर, निषेधाज्ञापछि अझ तिब्र गतिमा कोरोना संक्रमित बढेपछि काठमाडौंमा निषेधाज्ञा लम्ब्याउने निष्कर्षमा स्थानीय प्रशासन पुगेको छ ।
मंगलबार तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेको हो । यद्दपी यसको मोडालिटी भने केही परिवर्तन गर्न लागिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । आज गृह सचिवसँग प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्नेछ । सोही बैठकले निषेधाज्ञाबारे थप निर्णय लिने तयारी छ ।
उपत्यकामा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण निरन्तर बढिरहेकाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा थप एक साता निषेधाज्ञा लम्बिने भने निश्चित रहेको बताइएको छ । अब होम डेलिभरीलाई खुकुलो पारिने भएको छ ।
उपत्यकामा रेष्टुरेन्टबाट टेकअवे सेवा समेत लिन सकिने गरी खुलाउने तयारी गरिएको छ । निर्माण सामग्री र भन्सारमा अड्किएका सामानको समेत निर्वाध आपूर्तिको व्यवस्था अब मिलाइने भएको छ ।